विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री मित्र बहादुर सुनुवारको भनाइ "श्री शिवदूती माध्यमिक विद्यालय हाम्रो समाजको साझा सम्पत्ति, गौरव र उज्यालो भविष्यको आधार हो । वि.सं. २०१५ सालमा तितेपातीको झुप्रोमा, धुलौटो पाटीमा रेखा कोरेर सुरु भएको यो विद्यालय आज बालविकासदेखि कक्षा १२ सम्म साधारण धार र प्राविधिक धार (सिभिल इञ्जिनियरिङ) सहितको प्रतिष्ठित शिक्षालयका रूपमा उभिनु यसको ऐतिहासिक यात्रा हो । यो यात्रामा संस्थापक शिक्षक स्व. दुर्गाहरी दाहाल, तत्कालीन विद्यालय सञ्चालक समितिका अध्यक्ष स्व. खड्ग बहादुर कार्की, शिक्षा प्रबर्द्धक माननीय श्री पेशल कुमार पोखरेल लगायतका अग्रज व्यक्तित्व तथा स्थानिय बासिन्दाको अपार योगदान अविस्मरणीय रहन्छ । वि.सं. २०१७ सालमा सरकारी मान्यता प्राप्त गरेपछि निरन्तर संघर्ष, त्याग र समर्पणमार्फत विद्यालयले ठूलो फड्को मार्दै आजको रुप लिन सफल भएको छ । २०३९ सालसम्म प्राथमिक तहमा मात्र सीमित यो विद्यालय, २०५० सालमा निम्न माध्यमिक र २०५४ सालमा माध्यमिक तह हुँदै, २०६८ सालमा उच्च माध्यमिक स्तरमा पुग्नु हाम्रो सामूहिक परिश्रमको प्रतिफल हो । हाल यस विद्यालयमा साधारण धारसँगै बि.सं. २०७५ साल देखि प्राविधिक धार अन्तर्गत सिभिल इञ्जिनियरिङ विषयमा कक्षा ९ देखि १२ सम्म अध्यापन हुनुले यसलाई अझ विशेष बनाएको छ । विद्यालयको वर्तमान स्थिति हेर्दा, ३२ जना शिक्षक–कर्मचारी र ३४२ जना विद्यार्थीको सक्रिय सहभागिता देख्दा, विद्यालय भविष्यमा अझ राम्रो स्थानमा पुग्नेमा म पूर्णतया विश्वस्त छु । शिक्षकहरूले निरन्तर मेहनत, विद्यार्थीहरूले अनुशासन र लगनशीलता, अभिभावकहरूले निरन्तर साथ र स्थानीय समाजले दिएको सहयोगले यो विद्यालयको शैक्षिक गुणस्तरलाई अझ उच्च बनाउनेछ भन्ने हाम्रो विश्वास छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको नाताले म यस संस्थालाई अझ सबल र सक्षम बनाउन निरन्तर प्रयत्नशील छु । हामीले विद्यालयको भौतिक पूर्वाधार विस्तार, आधुनिक सूचना–प्रविधि प्रयोग, प्राविधिक तथा व्यावसायिक शिक्षा सुदृढीकरण, गुणस्तरीय पठन–पाठन, खेलकुद र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिनेछौं । साथै, यस विद्यालयलाई जिल्लामात्र नभई प्रदेशमै एउटा आदर्श नमुना विद्यालय बनाउन हामी कुनै कसुर बाँकी राख्ने छैनौं । यस अवसरमा म विद्यालयको स्थापना दिवसदेखि आजसम्म योगदान दिनुभएका सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवी, पूर्वविद्यार्थी, स्थानीय सरकार, पालिका, प्रदेश र संघीय सरकार लगायत सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । तपाईंहरूको निरन्तर विश्वास र सहकार्यले नै यो विद्यालयलाई उज्यालो भविष्यतर्फ अघि बढाइरहेको छ । अन्त्यमा, म सबैलाई एकताको भावनासहित विद्यालयप्रतिको गर्व र उत्तरदायित्वलाई जीवन्त बनाउन आह्वान गर्दछु । हामी सबैको साझा धरोहर ‘शिवदूती माध्यमिक विद्यालय’लाई अझ उज्जवल बनाउन सबै तह–तप्काबाट निरन्तर सहयोग र सहभागिता रहिरहोस् भन्ने मेरो हार्दिक अपेक्षा रहेको छ ।"
